(१) देहायका कुनै अवस्थामा कर अधिकृतले कर निर्धारण गर्न सक्नेछ:–
(क) म्यादभित्र कर विवरण पेश नगरेमा,
(ख) अधुरो वा त्रुटीपूर्ण कर विवरण पेश गरेमा,
(ग) झुट्टा कर विवरण पेश गरेमा,
(घ) करको रकम कम देखाएको वा ठीक नभएको भन्ने कर अधिकृतलाई विश्वास गर्नु पर्ने कारण भएमा,
ङ) आपूर्ति मूल्यमा न्यून बीजकीकरण गरेको भन्ने कर अधिकृतलाई विश्वास गर्नु पर्ने कारण भएमा ।
(छ) दर्ता हुनुपर्ने दायित्व भएको व्यक्तिले दर्ता नगरी कारोबार गरेमा(ज) बीजक जारी नगरी बिक्री गरेमा
(झ) दर्ता नभएको व्यक्तिले कर उठाएमा
(ज) दफा द को उपदफा (२) वा (३) बमोजिम कर दाखिला नगरेमा
(ट) दफा १७ को उपदफा (४) को अवस्था विद्यमान भएमा ।
(२) उपदफा (१) बमोजिम कर निर्धारण गर्दा देहायका कुनै वा सबै आधारमा करको निर्धारण गर्न सकिनेछ:–
(क) कारोबारको सबुत,
(ख) कारोबारको सम्बन्धमा सम्बन्धित कर अधिकृतले पेश गरेको कर परीक्षण प्रतिवेदन,
(ग) समान प्रकृतिको कारोबारमा संलग्न अन्य व्यक्तिले बुझाएको कर ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि उपरोक्त बमोजिम करको निर्धारण गर्दा प्रमाणको भार पुर्याउने अभिभारा सम्बन्धित कर अधिकृतको हुनेछ ।
(४) उपदफा (१) बमोजिम कर निर्धारण गर्दा कर विवरण पेश गरेको मितिले चार वर्षभित्र कर निर्धारण गरिसक्नु पर्नेछ । उक्त अवधिभित्र कर निर्धारण हुन नसकेमा पेश भएको विवरण नै स्वतः मान्य भएको मानिनेछ ।
(४क) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले झुट्टा लेखा वा बीजक वा अन्य कागजात तयार गरी वा जालसाजी गरी कर छलेको रहेछ भने जुनसुकै बखत विभागले पुनः कर निर्धारण गर्न आदेश दिन सक्नेछ ।
(४ख) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजस्व न्यायाधिकरण वा अन्य अधिकार प्राप्त अदालतबाट कर निर्धारण संशोधन गरिएको वा निर्धारित कर घटाइएको अवस्थामा सो हदसम्म कर अधिकृतले त्यस्तो कर निर्धारणमा संशोधन गर्न सक्ने छैन।
तर त्यस्तो निकायले पुनः छानबिन गर्ने आदेश दिएमा कर निर्धारण गर्न बाधा पुगेको मानिने छैन।
(५) यस दफा बमोजिम कर निर्धारण गर्दा कर अधिकृतले सम्बन्धित व्यक्तिलाई आफ्नो सफाई पेश गर्न पन्ध्र दिनको म्याद दिनु पर्नेछ ।